Bulbul - Euta Irani Chara (बुलबुल - एउटा ईरानि चरा)
Summary: बुलबुल एउटा ईरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।
- Visit Website
- RSS
- Artist: Ujyaalo 90 Network
- Copyright: Ujyaalo 90 Network (2009 - 2019)
Podcasts:
सर्पले काँचुली फेरे जस्तै दिनहरू, महिनाहरू, बर्षहरू ऋतु संगै समय फेरिएका छन्, हामी फेरिन्छौ । एउटा भनाइ छ संसारमा परिबर्तन बाहेक परिबर्तित नहुने कुनै कुरा नै छैन रे । इस्वी सम्बत हाम्रालागि एउटा चलन चल्तिकै सम्बत हो । यस अनुसार सन् २००९ लाई छोडेर २०१० मा पादार्पण गर्दै छौ हामि । हाम्रालागी सामान्य परिपर्तन हो यो र पनि कहिले काँही यहि पादार्पण बिशिष्ठ भैदिन्छ । सन् २००९ ले कतिलाई लुटेर गयो होला । मनहुस बर्ष २००९ गए जावस यसै भन्छौ हामि । २००९ ले कतिलाई धेरै कुराहरु दिएर गयो होला । यति प्रिय बर्ष नागईदिएको भए कति राम्रो हुन्थ्योहोला । यस्तै यस्तै उदगारहरू ब्यक्त छन् हामि भित्र । बर्ष न मनहुस हो न भाग्यबान त्यो त हाम्रो दिन हो हाम्रो ग्रह हो, पौडिन नजान्नेका लागि नदि सत्रु हो भने जान्नेका लागि त्यहिँ नदि मित्र भएर आएको हुन्छ ।
तपाईं पनि यतिबेला त्यहाँ एक्लै यति चिसोमा बसेर देख्दै नदेखेको मान्छे, सधैं रेडियोमा मात्र बोल्नेसंग साथ दिइरहनुको औचित्य के थियो र ? ओछ्यान नजिकै भए खुरुक्कै सुत्नुहुन्थ्यो होला, भान्छामा भए चूपचाप खाना खानुहुन्थ्यो होला, टि.भी. मा राम्रो कार्यक्रम होला, त्यो हेर्नुहुन्थ्यो होला । तर तपाईंलाई पनि मसंग कुरा गर्नुछ । त्यसैले तपाईं सुत्नुहुन्न, टिभी हेर्नुहुन्न वा मलाई नसुनिने ठाउँमा जानुहुन्न । कुरा गर्ने भनेर दुई जनाको संवाद पटापट नै हुनुपर्छ र ? म तपाईंको कुरा गर्छु, तपाईं मलाई सुन्नुहुन्छ । टेलिफोनले दोहोरो संवाद गराउँछ, पत्रले एकोहोरो सन्देश ल्याउँछ र रेडियोले एकोहोरो कुरा गराउँछ । यसो भनेर रेडियो मात्र तपाईंको साथी हैन । म तपाईंको साथी हुँ । रेडियो मात्र तपाईंको साथी भए भरे राती ११–१२ बजेपछि तपाईंले सुनेका रेडियो स्टेशनबाट आवाजहरु आउन छोडेपछि पनि तपाईं आफ्नो रेडियो सेट च्यापेरै बस्नुहुन्थ्यो । तर तपाईं त्यसो गर्नुहुन्न । त्यसैले रेडियो माध्यम हो हाम्रो सम्बन्धको । प्रेम त तपाईं र म बीच छ, आत्मीयता हामी बीच छ । सम्बन्ध, यो बाबष्च, यो निकटता...यो त केवल तपाईं र म बीच छ । त्यसैले मेरो बुलबुलियन आउनुस्, एकपटक या हाम्रो सम्बन्धको माध्यम रेडियोलाई धन्यवाद दिऊँ । अनि यही रेडियो बनाउने मार्कोनीलाई पनि धन्यवाद जसले तपाईं र मेरो सम्बन्ध सेतुको काम गर्यो । र हाम्रो सम्बन्ध युग युग बाँचिरहोस् ।
कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाच्न वा ऊसंग ठट्टागर्न बेला बेला उर्को प्रेमलाई अनेक प्रकारले जाच्ने गर्थिन । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताब राखेपनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार भएर बस्थ्यो । एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लग्यो । ऊनले सिपाहीलाई बोलाएर भनिन तिमि मलाई साच्चै प्रेम गर्छु भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देउ नत्र म तिमीसंग प्रेम गर्दिन अर्कै राजकुमार संग बिहा गरेर गईदिन्छु । सिपाहीले हुन्छ सिबाए केहि भन्न नसकेर फर्कियो । राजकुमारीको बगैचामा सबै सेता गुलाबका मात्र बोट थिए । त्यो देसैभरी रातो गुलाबको बिरुवा थिएन । निराश सिपाही बगैचामै बसी बिरह गर्न थाल्यो । साझ पर्दै गएपछि एक जोडी बुलबुल चरा त्यहिँ बास बस्न आए । निराश सिपाहीको बिरह देखिर बुलबुल जोडीले सोधे के भयो तिमीलाई ? किन यसरि बिलाप गरिरहेका छौ सिपाही ? सिपाहीले आफ्नो समस्या बतायो । त्यसपछी बुलबुल जोडीले उसलाई बचन दिए असल प्रेम मर्नु हुन्न भोलि बिहान यहि बगैचामा राजकुमारीलाई लिएर आउनु रातो गुलाबको व्यवस्था हामि गरिदिने छौ । सिपाही आस्वस्त भएर घर फर्कियो । त्यस रात रातभरी राजकुमारीको बगैचामा प्रेम बिरहका गीत गजलहरू सुनिए । राजकुमारीको मन अत्यन्तै कोलाकित भयो । बिहान सबेरै सिपाही आयो राजकुमारीले सोधिन रातो गुलाब खोइ त ? सिपाहीले राजकुमारीलाई बगैचामा लिएर गयो । बगैचामा सबै गुलाबहरू राता भएका थिए । सिपाही र राजकुमारी अगाडी बढ्दै गए । बुलबुल चरिका जोडीहरू अझै गाउदै थिए बिरह गाना। नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाबको बोटको काँडामा घोच्दै रगतले सेता गुलाबहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाबहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाबका बोटबाट भूइँमा झरेर अमर भए ।
सायद सम्बन्ध स्वर्गमै बनेको हुन्छ होला मान्छे मान्छे बीचको, नत्र भने किन सडकमा गाडीमा यात्रा गर्दा, बजार डुल्दा भेटिने सबै मान्छेहरू साथि भएनन् किन पो उनिहरुसंग निकटता भएन । कसै संग कहिले सम्बन्ध जोडिन्छ हामीलाई पत्तो हुँदैन । सम्बन्ध आखिर किन पो जोडिन्छ ? के का लागि ? के प्राप्तिका लागि ? एक आर्का बिचको सम्बन्ध हुनुले के अर्थ राख्छ ? के पाउँछु म अनि अरुहरू के पाउँछन ? क्षणभरको साथ न हो, अहिले गासियो भोलि हिजोजस्तै अपरिचित हुन बेर हुन्न । तर कसै कसै संग को सम्बन्ध यति साह्रो नजिक हुँदो रहेछ । जे को पनि एउटा हद हुन्छ तर सम्बन्ध कै हुँदोरहेनछ । सम्बन्ध आज सामान्य चिनजान मा सकिन्छ भोलि व्यक्तिको परिचय खोतलिन्छ अनि गर्दै जादा प्रेमी प्रेमिकाको बन्न लागेको अबधि (बेर) १ २ सेकेन्ड जस्तै लाग्छ तर पनि युगौदेखि संगै रहेजस्तो । चलखेल गरेजस्तो गर्न बोल्दैन त्यो सम्बन्धको कडी । सिमा नगेर माथि गएपछि अझै एउटा सिमा बाँकि रहन्छ, त्यो सिमा बिचको अत्तो पत्तो रहन्न ति जोडी बिचको सम्बन्धलाई । त्यहिँ सम्बन्ध एकाएक टुटेर जाँदा आकाश खसेजस्तै लाग्छ तर बिस्तारै समाप्त हुन्छ । तर पनि त्यो सम्बन्ध हिन सम्बन्धले कताकता पोलिरहन्छ, कताकता दुखिरहन्छ केहि अभाब महसुस गराउछ सायद ति पुराना दिनहरु सम्झेर ।
आज यहाँ नेर बुलबूलियन साथीहरुको चर्चा गर्दाखेरि एउटा मौन बुलबूलियन समुहको चर्चा गर्न मन लागेकोछ । यहाँ मैले हजारौ मौन बुलबूलियनहरुको ढुकढुकी साच्ने गरेको छु । महिनामा कमसे कम एक पटक हामि अब बुलबुल युनिटका तर्फबाट एउटा हाम्रो चोइसको गजल सुनाउने लहडमा छौ । पत्र पनि नलेख्ने, तारिफ वा गालि पनि नगर्ने चुपचाप सुनी मात्र रहने एउटा समूह जो बुलबूलियन हो तर बुलबुल सुनेर पनि कुनै प्रतिक्रिया जनाउदैन ति तमाम बुलबूलियनको नाममा आज देखि हामि महिनाको एउटा कार्यक्रममा बुलबुल युनिटका तर्फबाट एउटा गजल प्रस्तुत गरेर सुनाउने गर्छौ, सांगीतिक गजल आज पहिलो हाम्रो समर्पण रहेको छ ति मौन बुलबूलियनहरूको लागि.....
पानीलार्इ "थोपा" एकाइमा नापे जस्तै माया र प्रेमलार्इ कुनै एकाइमा नापिंदो हो भने किटेर भन्न सकिन्छ प्रेमको सबभन्दा सानो एकाइको मूल्य तब खुल्छ जब प्रेमबाट मान्छे वञ्चित रहन्छ । कोही बोलेको मन पर्दैन, कुनै कुरामा ध्यान जाँदैन, भोक लागेको हो कि तिर्खा अहँ स्पष्ट हुँदैन, जति खेर पनि अव्यक्त केही खोजी गरिरहन्छ मनले । त्यसै त्यसै रित्तोपन एम्प्टीनेसले सताउँछ । प्रेम केलार्इ भन्ने ? बाटो घाटोमा देखेका आफूभन्दा विपरीत लिंगीप्रतिको आकर्षणलार्इ प्रेम भन्ने कि एक टुक्रा कागजमा ४ थोपा मसी खर्च गरेर लेखेको शब्दलार्इ प्रेम भन्ने ? स्कूल, कलेज वा अफिसमा आफूसंगै पढ्ने वा काम गर्ने आफूलार्इ सबैभन्दा राम्रो लागेको ठिटो अथवा ठिटीसंग सामीप्यता खोज्न उठेको चाहनालार्इ प्रेम भन्ने कि बाबुआमाले शिशु अवस्थादेखि आफूलार्इ हुर्काउन गरेको परिश्रमलार्इ प्रेम भन्ने ? संगै बसेर काँधमा काँध, हातमाथि हात राखेर गरिएका वाचा कसमलार्इ प्रेम भन्ने कि एक अर्काका विरह व्यथालार्इ बर्बरी आँखाबाट आँसु झार्दै व्यक्त गरिएका अभिव्यक्तिलार्इ प्रेम भन्ने ?
बुढापाखाहरूको एउटा कथन छ, पारिजातको फूल जहिले पनि मानिसलाई पाप बोकाउन मानिस हिड्ने बाटोमै फुल्छ रे । बाटो नपर्ने भित्रि ठाउँमा पारिजातको बोट रोपियो भने पारिजात सर्दैन बरु बोट नै मरेर जान्छ रे । पारिजात बाटोको छेउमा झाङ्गिन्छ अनि रातभरि फूलेको फूल बिहानिपख बाटाभरि छरिएको हुन्छ । मानिस त्यहिँ बाटो भएर हिड्छन । कतिले त्यो फूललाई नाग्छन अनि कतिले कुल्चेर हिड्छन । धर्मशास्त्रका अनुसार फूल कुल्चने मानिस पापी हो अधर्मी हो । पारिजातले यसरि मानिसलाई पापी बनाएको छ अधर्मी बनाएको छ । आज पनि विश्वाश गरिन्छ यदी कुनै प्रेमिले आफ्नो बगैचामा पारिजातको बिरुवा रोप्छ भने त्यो कहिले सोझो भएर बढ्दैन, एकातिर ढल्कन्छ नै । हो त्यही ढल्केको दिशातिर नै उसको प्रेमिकाको बसोबास पर्छ रे । घरमा पारिजातको बोट भएका प्रेमिहरु सच्चा प्रेम गर्छन् भने याद गर्नु यो प्रेममय बासना दिने पारिजातको बोट सधैं आफ्नी प्रेमिकाको घरभएको दिशातर्फ ढल्किएको हुन्छ, प्रेमिका पूर्बी दिशामा भए पूर्वतिर पश्चिममा प्रेमिकाको घर भए पश्चिमतिर ।
नेपाली गजलको ईतिहासलाई हेर्ने हो भने धेरै पुरानो छ । तर एक दशक यतादेखिमात्र नेपाली गजल क्षेत्र मौलाउदै आएको हामी पाउछौं । मोतिराम भट्टदेखी नेपाली गजल परम्परा सुरु भएपनी पछील्ला दिनहरूमा गजल लेख्नेहरूको संख्या ह्वात्तै बढेको छ तुलनात्मक हिसाबले । गाएनकै चर्चा गर्दा पनि मोतिराम कै गजल "यती सम्म प्रित गरी गरी न यता भए न उता भए" भक्तराज आचार्यले धेरै अघी गाउँनु भएको गजल हो । तर अब नेपाली साङ्गीतिक क्षेत्रमा गजल गाएनको परम्परा बिकसित हुँदै गएको छ भन्नपाउदा गर्वले हाम्रो छाती फूलेर आउछ ।
साँझ फेरी उसैगरी सुरुभएको छ मनहरू फेरी उसैगरी चलेकाछन् तपाईं आ-आफ्नै ठाउँमा बसेर यतिबेला उही अवस्थामा बुलबुल कुरिरहनु भएको छ । बुलबुलमा धेरै बोल्न मनाही छ । तपाईं मध्ये केहीको प्रतिकृया, यसलाई पनि पालना गरेको छु । आज फेरी मनपरेका केही गजल सुनाउने तरखरमा अपनत्वले छोपेको छ मलाई । त्यसैले मलाई मनपरेका केही गजल बोकेर ल्याएको छु । बझाउछु यि गजल भनेर हक जताउछु म । अधिकार लाग्छ मलाई बुलबुलप्रति । तपाईंलाई पनि मन पर्छ मेरो यही विश्वाश छ । बुलबुलियनका सम्बेग हुन्छन, बुलबुलको सम्बेग हुन्छ । त्यसो हो भने बुलबुलमा बोल्ने मेरो पनि त सम्बेग छ । म बोल्न पाउछु या पाउदिन ? यो प्रश्न तपाईंलाई ।
प्रेम प्रस्ताब राख्नकालागि लेखिने पत्रमा जस्तै सम्बोधनको अदप्ता मलाई यहाँ खट्किरहेको छ । चार बर्ष पहिले चाइनिज सानो काइडो कम्पनिको रेडियोमा ट्युनर बटार्दै किर्तिपुरको नगाउमा अप्रस्ट रूपमा सुन्नै पर्ने बुलबुलले ईन्टरनेटको मध्यमबाट संसारभरकालागी प्रस्तुत हुँदा पच्चिस लाख प्रबासी नेपालीमा हुनुपर्ने खुशी ममा अबश्य छ । भर्खर मात्र बिदामा घरमा तीन महिना बस्दा पनि मैले थाहा पाएको थिएन बुलबुल पनि यतै कतै हाम्रो नजिकै छ भनेर । मात्र समाचारकालागी नोट गरेको UNNको वेब ठेगाना यहाँ आएपछी मात्र खोले अनी मात्र थाहा पाए बुलबुल पहिला भन्दा नजिक बनेछ । समाचार भन्दा पहिले बुलबुल डाउनलोड गरेर सुने साह्रै खुशी लाग्यो र यो खाडीमा अर्को एउटा मिठो साथी पाएको महसुस भयो ।
...धोकादिने प्रेमी सँग निडर मनका कुरा भन्दैछ । प्रेममा आफ्नो भन्नेले छोडिदिएपछी पनि मरेर त जान सकिदैन, बाँच्नै पर्छ । अनी बाँच्नकालागी इन्फेरेटी कम्प्लेक्स लिएर कतिसम्म बच्ने । त्यसो भएपछी आफु भित्रको क्षमता आँफैलाई भन्न मन लाग्छ ।
बुलबुलमा दुख्नु संगै सम्बेगका कुरा जोडीए, आबेगका कुरा जोडीए । यती मिहिन छन दुखाइका सम्बन्धहरू के केलाउने हो भने केस्रा केस्रा भएर छुटिन्छन् अनी एउटा जालो बन्छ त्यही जालोमा हामी मान्छे छुद्र प्राणी रुमलिन्छौ, अल्झिन्छौ माकुराको जालोमा झिङ्गा अड्किए जस्तै । सधैं दुखाइका कुरामात्र कती गर्ने कहिले काँहि जिवनमा आउने क्षणहरू यस्ता हुन्छन जस्लाई कैद गरिदिन मन लाग्छ मन भित्रै । मान्छे चाहन्छ हरपल हरक्षण आनन्द र सुख मात्र रहोस् आफ्नो साथमा । खुशी संग बिताएका पलहरू मन छताछुल्ल पारेर बानिज्यका अबसरहरू आँखाभरी कैद गर्न मन लाग्छ, मन भरी बाधेर राख्न मन लाग्छ, समयलाई थुनिदिन मन लाग्छ आँफै सँग मुठ्ठिमा कसेर ।
प्रेम विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
प्रेम विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"
प्रेम विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।"